सार्क अवधिमा ६८ जना पक्राउ , सार्कमा सुरक्षा व्यवस्थापन गर्न नेपाल सफल
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौँ शिखर सम्मेलनमा सुरक्षा व्यवस्थापन चुस्त दुरस्त बनाएर अन्तर्राष्ट्रिय रुपमा नेपालले सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ ।
सातवटा देशका राष्ट्रप्रमुख/सरकार प्रमुख सहभागी शिखर सम्मेलनमा नेपालको सुरक्षा व्यवस्था कमजोर हुने हो कि भन्ने आशङ्कालाई चिर्दै नेपालले उच्चस्तरको सुरक्षा व्यवस्था मिलाउन सफल भएको हो । धरै विशिष्ट अतिथि रहेकाले सुरक्षा समन्वयमा कमजोरी हुने हो कि भन्ने चिन्ता रहे पनि त्यस्तो कुनै कमजोरी भएन ।
विशेषतः भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफको सुरक्षाको विषयलाई बढी महत्वका साथ हेरिएको थियो । ती दुई देशबीचको सम्बन्धमा देखिएको चिसोपन र नेपाल÷भारत खुला सिमानाका कारण पनि सुरक्षा संवेदनशीलताका साथ लिइएको थियो ।
अठारौँ सार्क बैठकको अनुभवले अबको एक वर्षमा राजधानीमा नै आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको सहज सुरक्षा व्यवस्थापन गर्न नेपालको आत्मविश्वाससमेत बढाएको छ ।
गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद ढकालले सम्मेलनका लागि बनाइएको ‘एकीकृत सुरक्षा योजना’ पूर्णरुपमा सफल भएको र सुरक्षा व्यवस्थापनमा कहीँ कतै कमजोरी नदेखिएको बताउनुभयो ।
सार्कमा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्ययोजना बनाएर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका २८ हजार सुरक्षाकर्मीलाई एकीकृत रूपमा परिचालन गरिएको थियो । सुरक्षाका सबै अङ्गलाई आ–आफ्नो ठाउँमा जिम्मेवारी तोकेर परिचालन गरिएको थियो ।
महानगरीय प्रहरी परिसर हनुमानढोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमकुमार कार्कीले सार्क अवधिभर शङ्कास्पद गतिविधि गर्ने ६८ जनालाई नियन्त्रण लिइएको जानकारी दिनुभयो । उनीहरुमध्ये ३२ जनालाई पक्राउ गरेकै दिन छाडिएको र ३६ जनालाई भने एक दिन नियन्त्रणमा राखी छोड्ने क्रम जारी रहेको बताउनुभयो ।
सुरक्षा सुदृढीकरणकै क्रममा सञ्चारसम्पर्क विच्छेद गर्ने प्रणाली रहेको अत्याधुनिक गाडी ‘जामर’ को समेत नेपालले व्यवस्थापन ग¥यो । भारत र पाकिस्तानले आफँै जामर गाडी ल्याएका थिए भने अन्य विशिष्ट अतिथिका लागि नेपाल सरकारले चारवटा जामर गाडी मगाएको थियोे ।
गृह मन्त्रालयको प्रवक्तासमेत रहनुभएका ढकालले सार्कका क्रममा देखिएको सुरक्षा व्यवस्थापनले नेपाल जस्तोसुकै सुरक्षा व्यवस्थापन गर्न पनि सक्षम रहेको सन्देश प्रवाह गर्न सफल भएको बताउनुहुन्छ ।
सबै विशिष्ट अतिथि आउने र जाने विमानस्थलदेखि उहाँहरू बस्ने होटल तथा कार्यक्रमस्थलसम्मको सुरक्षासम्बन्धी कार्ययोजना तयार पारि लागू गरिएको थियो ।
सार्कको सुरक्षा तयारीका क्रममा दुई महिनाअघिदेखि नै सीमा नाकामा विशेष निगरानी र कडाइ सुरु गरिएको थियो भने उपत्यका भित्रिने प्रमुख नाकामा यात्रुको जाँचमा कडाइ गरिएको थियो ।
विशिष्ट अतिथिहरूले यात्रा गर्ने क्षेत्रहरूमा गुणस्तरीय सिसिटिभीको व्यवस्था गरी नेपाली सेनाको समन्वय केन्द्र र महानगरीय प्रहरी आयुक्त कार्यालयबाट सिसिटिभीको माध्यमबाट सवारी गतिविधि नियाल्ने काम भएको थियो ।
गृहमन्त्री वामदेव गौतमकै संयोजकत्वमा सुरक्षा, परिवहन र यातायात समिति गठन गरिएको र सोअन्तर्गत विभिन्न उपसमिति पनि गठन गरिएको थियो ।
यातायात व्यवस्थापनका लागि मङ्सिर ८ देखि १२ गतेसम्म उपत्यकामा सवारी साधन सञ्चालनमा जोर–बिजोर नम्बर प्रणाली लागू गरिएको थियो ।
विशिष्ट अतिथिकोे सवारी व्यवस्थापनका कारण सर्वसाधारणलाई केही असहज भए पनि देशकै प्रतिष्ठाका रूपमा रहेको सार्क सम्मेलन सफल पार्न सर्वसाधारणले आफ्नो योगदानका रूपमा त्यसलाई लिनुपर्ने प्रवक्ता ढकालको भनाइ छ । अठारौँ शिखर बैठकको सफल व्यवस्थापन र सुदृढ सुरक्षा व्यवस्थाले नेपाल र नेपालीको प्रतिष्ठा अन्तर्राष्ट्रिय रुपमा बढाएकामा सबैको एकमत रहेको छ । -किरण भट्टराई मार्फत @ हाम्रो संदेश बाट