Header Ads

महिला साफ च्याम्पियनसिप फुटबलमा भोली नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं । पाकिस्तानमा जारी तेस्रो महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले बुधबार बंगलादेशको सामना गर्ने भएको छ। नेपाल समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। बंगलादेशले भने समूह 'ए' को उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो।

 साफ च्याम्पियनसिपको सबै संस्करणमा सेमिफाइनलमा पुगेको नेपालले बंगलादेशसँग पनि स्पष्ट जितको लक्ष्य राखेको छ। 'नेपालको एउटै लक्ष्य उपाधि भएकोले हरेक प्रतिद्वन्द्वीलाई हराउँदै अघि बढ्नुको विकल्प छैन', प्रशिक्षक कुमार कटुवाल भन्छन्। कप्तान अनु लामाले पनि यसपटक आफूहरूको लक्ष्य उपाधि भएको दाबी गरेकी छन्। बंगलादेशको तुलनामा नेपाली चेलीको प्रदर्शन उत्कृष्ट रहेको प्रशिक्षक कटुवालले बताए।

यसअघि नेपाल र बंगलादेश सन् २०१० को साफ च्याम्पियनसिपको सेमिफाइनलमै भिडेका थिए। बंगलादेशको कक्स बजारमा भएको पहिलो संस्करणमा नेपालले घरेलु टोलीलाई ३-० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो। त्यतिबेला नेपाल फाइनलमा भारतसँग १-० गोलले पराजित भएको थियो। प्रतियोगिताको अर्को सेमिफाइनल खेल पनि बुधबार नै साविक विजेता भारत र श्रीलंकाबीच हुनेछ। भारत समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

श्रीलंका भने समूह 'बी' को उपविजेता टोली हो। च्याम्पियनसिपको समूहगत चरणका खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। लिग चरणमा नेपालले शतप्रतिशत नतिजा निकाल्दै नौ अंक जोडेको थियो। प्रतियोगिताको तीन खेलमा १३ गोल गरेको नेपालले पहिलो खेलमा भुटानलाई ८-० गोलले हराएको थियो।

दोस्रो खेलमा आयोजक पाकिस्तानलाई २-० गोलले हराएको नेपालले तेस्रो खेलमा श्रीलंकालाई ३-० गोलले पाखा लगाएको थियो। प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि भारतले जितेको थियो। नेपाल भने दुबै संस्करणमा उपविजेता बनेको थियो।


Powered by Blogger.