Header Ads

बोक्सीको आरोपमा ५२ वर्षीया सकुन्तीदेवीको मुखमा छिमेकीद्वारा आगो झोसियो

राजविराज,कार्तिक १६ । जिल्लाको शम्भुनाथ गाविस–१० रामपुर जमुवाकी ५२ वर्षीया सकुन्तीदेवी साहलाई बोक्सीको आरोप लगाउँदै उनका छिमेकीले मुखमा आगोले झोसेका छन् । स्थानीय बुधन सदाकी पाँच वर्षीया छोरीको पखाला लागेर शुक्रबार ज्यान गएपछि टुनामुना गरी मारेको भन्दै पाँच सन्तानकी आमा सकुन्ती र उनका पति ५८ वर्षीय भोला साहलाई कुटपिट गरी मुखमा आगो झोसेका थिए ।

भारतको विहार मधुबनीको खुटौनास्थित जोखी पिपराहीबाट दिदीभेनाको घर आएकी रञ्जनाले स्थानीय डिहवार बाबाको मन्दिरमा धामी खेल्दै सकुन्तीको मुखमा माटोको भाँडामा आगो राखी झोसेकी थिइन् । आगोले मुख र अनुहार जलेपछि पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

 बोक्सी आरोपमा मुखमा आगो झोस्ने काममा संलग्न कृण्णदेव सदा, उनकी पत्नी रेणु सदा, साली रन्जना सदा, छिमेकीहरु देवनारायण सदा र कमला सदालाई प्रहरीले शनिबार गाउँबाटै पक्राउ गरेको छ । पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा दिएको उजुरीका आधारमा पक्राउ परेका उनीहरुमाथि कानुनी कारबाही थालिएको प्रहरी निरीक्षक छेदीलाल कामतीले बताए ।

रुढीवाद र अन्धविश्वासमा जकडिएको सामाजिक संस्कार र महिलामाथिको विभेदका कारण कमजोर, बृद्ध र निरीह महिलाहरु बोक्सीजस्ता आधारहीन आरोपबाट प्रताडित हुने क्रम अझै रोकिएको छैन ।
भिडियो रिपोर्ट तल हेर्नुहोला !

Powered by Blogger.