Header Ads

तातोपानी र लिपिङ बजार पूरै यसरी खाली भएपछी

सिन्धुपाल्चोक, जेठ १ । लगातार गएको भूकम्पले सिन्धुपाल्चोकको तातोपानी र लिपिङ बजारको अस्तित्वमै संकट पैदा गरेको छ । पहिरोका कारण दुवै बजार खाली गरिएको छ । हिमाली र पहाडी भेगका दर्जनौं बस्तीहरू उठिबास हुने खतरा बढेको छ । पहिरोको चपेटामा पर्दा यो भेग नै बसोबासविहीन हुने खतरा बढेको छ ।

 तातोपानीका बासिन्दा स्थानीय मानसरोवर इङ्लिस स्कुलमा आश्रय लिएर बसेका छन् । लिपिङका बासिन्दा भने सुरक्षित ठाउँ खोज्दै कोदारीको चौकीडाँडा गएर बसेका छन् । तातोपानीस्थित सीमा प्रहरी कार्यालय बाह्रबिसेमा सारिसकिएको छ । तातोपानीबाट सुरक्षाकर्मीको टोली पनि बाह्रबिसे फर्काइसकेको छ । तातोपानी भन्सार ठप्प छ। भन्सार कार्यालयको पनि भत्केको छ। तातोपानी बजारका अधिकांश घर सद्दे छैनन् ।

तातोपानी बजारमा तलतिर पहिरो गइरहेको र डाँडाबाट पनि ढुंगा खसिरहेकाले स्थानीय बासिन्दाले असुरक्षित महसुस गरेका हुन् । तल भोटेकोसी नदीको बहाव र माथिबाट पहिरो बस्ती खतरामा परेर स्थानीय अलपत्र परेको स्थानीय विष्णुबहादुर श्रेष्ठले बताए । मंगलबारको भूकम्पपछि तातोपानीमा अलपत्र परेका श्रेष्ठसहित ६ जनालाई हेलिकोप्टरबाट उद्धार गरी बाह्रबिसेसम्म ल्याइएको छ ।

 उनीहरू घर हैन, राजधानी काठमाण्डुतर्फ लागेका छन् । पहिरोका कारण सडक अवरुद्ध हुँदा भूकम्पका कारण विस्थापितलाई सदरमुकामबाट राहत सामग्री पठाउनसमेत समस्या परेको छ । पछिल्लोपटक मंगलबार गएको ६.८ रेक्टर स्केलको धक्कापछि अरनिको राजमार्गको बाह्रबिसे–कोदारी खण्डमा ठाउँठाउँमा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध छ ।

 अवरोध खुलाउने प्रयास जारी भए पनि चाकु, लार्चालगायत ठाउँमा पहिरो नरोकिएकाले यो प्रयास सफल हुन नसकेको प्रमुख सेनानी सुरेशकुमार कार्कीले जानकारी दिए । अन्नपूर्ण पोष्टबाट
Powered by Blogger.