Header Ads

दिल्लीबाट पठाएको त्रिपाल यसरी गाएब भए पछि, एकैचोटी जोरपाटीमा भेटिए

काठमाडौं । दिल्लीस्थित नेपाली दुतावासले खरिदेर पठाएको ५ लाख रुपैंयाँ बराबरको ४७३ प्याकेट त्रिपाल जोरपाटीस्थित एक व्यक्तिको गोदाममा भेटिएपछि सुरु भएको अनुसन्धानले बिभिन्न तहमा आशंका जन्माएको छ । खरिद प्रकृया पूरा गरेर गत बैशाख २२ मा दिल्ली दुतावासले पठाएको ४७३ प्याकेट(५१५६ वटा) त्रिपाल रुपन्देही जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेमा एकैचोटी बैशाख २४ गते साँझ काठमाडौं, जोरपाटीमा भेटिएपछि यसमा प्रहरी छानविन सुरु भएको हो । कान्तिपुरमा समाचार छ ।

 ‘हामीले पाएको सूचनामा जोरपाटी बस्ने आङकाजी तामाङका घरमा त्रिपालको भण्डार पाइयो,’बौद्ध प्रहरीका प्रमुख डीएसपी नरहरी रेग्मीले फोनमा भने, ‘त्यहाँ भने ३७१ प्याकेट मात्रै त्रिपाल भेटियो, बाँकी १०२ प्याकेट हराइरहेको पायौं ।’ त्यसपछि तत्कालै अनुसन्धान क्रममा पक्राउ गरेर सिन्धुपाल्चोक, थकनी–८ मुलघर भएका शेर्पालाई पक्राउ गरेर बौद्ध प्रहरीमा राखिएकोमा उनी पनि मंगलबार आएको दोस्रो ठूलो भुकम्पको हताहत स्थितीमा थुनाबाट भागेका छन् । दिल्लीस्थित नेपाली दुतावासले दिएको जानकारीमा ४७३ प्याकेट त्रिपालसहितको सामग्री रुपन्देही जिल्ला प्रशासनलाई हस्तान्तरण गर्नुपर्ने गरी जिम्मेवारी दिइएको थियो ।

 ‘हामीले त्रिपाल रहेको ट्रकका ड्राइभरलाई दुतावासको आधिकारिकता पत्र दिएर पठाएका हौं,’नेपाली दुतावासका काउन्सेलर एसएसपी राजेन्द्रमान श्रेष्ठले भने, ‘भैरवहा पुगेर स्थानीय सीडीओलाई यो सामग्री बुझाउनुपर्नेमा काठमाडौं पुगेर मात्रै सामग्री बोकेको ट्रकका चालकले सिन्धुपाल्चोक जान चाहेको थाहा पायौं । त्यसपछि मैंले त्यो सामान तत्काल रोक्का गर्न भनेको हुँ ।’ दुतावासले खरिद गरेर पठाएको त्रिपालबाहेक अन्य ट्रकमा दुतावासमा संकलित राहत सामग्री थियो । ‘तर त्रिपाल राखिएको ट्रकको क्षमता पनि ४७३ प्याकेट लोड गर्न सक्ने बराबरको छैन,’डीएसपी रेग्मीले भने, ‘यो पनि हाम्रा निम्ति अनुसन्धानको बिषय बनेको छ ।’

अहिले यी सबै सामग्री केन्द्रिय राहत कोषमा बुझाइएको छ । बौद्ध प्रहरीमा देखाइएको कागजातमा दुतावासको कागजातको सट्टा नेपाली कांग्रेस भातृसंगठन ‘नेपाल जनसम्पर्क समिति, भारतले ल्याएका राहत सामग्री’ भनेर देखाइएको र सिधै सिन्धुपाल्चोक लैजान खोजिएकोमा थप ‘आशंका’ उब्जिएको हो । यो अनुसन्धानमा समिति सम्बद्ध केही अधिकारी र सम्पर्क अधिकृत बनेर आएका गुल्मी घर भएका बिष्णु केसीसँग थप सोधपुछ भैरहेको डीएसपी रेग्मीले बताए ।

 दिल्लीस्थित दुतावासमा भुकम्पपीडित राहत सामग्रीको संयोजन गरिरहेका काउन्सेलर श्रेष्ठका अनुसार औसतमा ६ सय रुपैंया पर्ने त्रिपाल खरिदेर तत्कालको खाँचो टार्न नेपाल सरकारका नाममा उक्त सामग्री पठाइएको हो । यो घटनामा हाल भैरवहामा रहेका जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेसँग थप सोधपुछ भैरहेको डीएसपी रेग्मीले जानकारी दिए ।

 एकैसाथ, भैरवहास्थित भन्सार कार्यालयले रुपन्देही जिल्ला प्रशासनमा बुझाउनुपर्ने सामग्रीलाई के, कुन आधारमा यो काठमाडौं लैजाने अनुमती दिएको हो— यसबारे पनि अनुसन्धान भैरहेको छ ।
Powered by Blogger.