Header Ads

महाभूकम्पबाट मृत्यु हुने संख्या ८,०४६ पुग्यो, घाईते १७,८५१ पुग्यो

काठमाडौँ । नेपाल प्रहरीको पछिल्लो जाकारी अनुसार महाभूकम्पबाट मृत्यु हुने ८,०४६ घाईते १७,८५१ पुगेकाछन् । सिन्धुपाल्चोक जिल्लामा मात्र तीन हजार १०७ को मृत्यु भएको छ भने काठमाडौँमा एक हजार २२२ को मृत्यु भएको छ । भूकम्पका कारण १० हजार ८०३ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् । आंशिक रूपमा १५ हजार ३४ घर तथा भवन क्षति भएका छन् ।

सर्वसाधारणका दुई लाख ९६ हजार ९०३ घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ७७ हजार ५० घर क्षति भएका छन् । यसैबीच, सरकारले भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म राहतस्वरूप वितरण गर्न सम्बन्धित निकायहरूमा रु. दुई अर्ब ८४ करोड ५४ लाख निकासा गरिसकेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी सो विनाशकारी भूकम्पमा परी मृत्यु हुने र घरवारबिहीनको राहतस्वरूप उक्त रकम निकासा गरिएको जनाएको छ ।
प्रभावित क्षेत्रबाट टेन्ट÷त्रिपालको माग अत्यधिक रूपमा भइरहेको उल्लेख गर्दै हालसम्म मित्रराष्ट्र भारतबाट दुई लाख २९ हजार २९८ थान तथा अन्य मित्रराष्ट्रहरू चीन, थाइल्याण्ड, पाकिस्तान, इण्डोनेसिया, जापान, कोरियालगायतका राष्ट्र र स्थानीय विकास, सहरी विकास मन्त्रालयबाट समेत जम्मा तीन लाख ४० हजार २२१ थान प्राप्त भएको जनाएको छ ।

प्राप्त टेन्ट-त्रिपाल सिन्धुपाल्चोकमा ३८ हजार ७२८, रसुवामा १० हजार ५२४, धादिङमा १४ हजार २१७, काभ्रेमा २८ हजार ४१०, नुवाकोटमा २०,२१०, सिन्धुलीमा २२ हजार ४४०, ओखलढुङ्गामा १२ हजार २४, रामेछापमा २६ हजार ९५६, गोरखामा २९ हजार ९८७, दोलखामा ३१,५५३, मकवानपुरमा १३,९९८, काठमाडौँमा ४३ हजार ५६७, ललितपुरमा २२ हजार ८४१, भक्तपुरमा २१ हजार ७१, लमजुङमा चारहजार ५८४ थान पठाइसकिएको छ ।

ती जिल्लाबाहेक अन्य प्रभावित जिल्लाहरूमा स्थानीयस्तरबाट र नेपाल रेडक्रस सोसाइटीसमेतबाट प्राप्त टेन्ट÷त्रिपाल पठाइएको विज्ञप्तिमा जनाइएको छ । पीडितहरू सबैले समानरूपमा राहत प्राप्त गर्न सकुन् भन्ने लक्षित उद्देश्यका साथ राहत वितरणको कार्य भइरहेको छ ।

दुर्गम स्थानहरूमा राहत पुग्न नसकेको, राहत वास्तविक पीडितले पाउन नसकी अन्य व्यक्ति, समुदायले लिने गरेको जस्ता सूचनाहरू प्राप्त भएको उल्लेख गर्दै विज्ञप्तिमा यस प्रकारका गतिविधिहरूले पीडामा परेका पीडितहरूलाई झन् आघात पुग्नजाने र समानताका आधारमा राहत वितरण गर्ने लक्षित उद्देश्य पूरा हुन नसक्ने हुँदा त्यस्ता गतिविधि नगर्न-नगराउन गृह मन्त्रालयले सबैमा आग्रह समेत गरेको छ ।

राहत वितरणमा संलग्न सङ्घसंस्थालगायत सम्पूर्ण राहत वितरणकर्ताहरूलाई उल्लेखित गतिविधिहरूबाट सजग, सचेत, सावधान हुँदै जिल्ला दैवी प्रकोप उद्धार समितिको सम्पर्क र समन्वयमा रहेर राहत वितरणको कार्य गर्न हुनसमेत मन्त्रालयले अपिल गरेको छ ।

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा विनाशकारी भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने र पीडितहरूको उद्धार तथा राहत वितरण गर्ने कार्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट आजसम्म जारी रहेको पनि जनाइएको छ ।-न्यूज अभियानबाट
Powered by Blogger.