Header Ads

४ वर्षदेखि चिकित्सक अचेत

चितवन । थला परेको शरीर घरको एउटा कोठामा ‘मुढो’ झैं लडिरहेको छ । बोली हराएको छ । खाना पाइपबाट झोलिलो मात्रै खुवाउनुपर्छ । भित्तभरि सम्मानपत्र र परिवारसँग तस्विर झुन्डिएका छन् । तिनलाई टुलुटुलु हेर्छन् । केही बोल्न कोसिस गर्छन् तर,वाक्य फुट्दैन । आँसु भरिएर आउँछ आँखामा ।

 ४ वर्षदेखि अचेत डा. प्रकाश अधिकारीको अवस्था यस्तै छ । भरपुर २४ शिवनगरस्थित घरको कोठामा सुतिरहेका उनी एकातिर आँखाबाट आँसु झारिरहेका हुन्छन् भने अर्कोतिर कुनामा बसेर ६५ वर्षीया आमा कौशिला रोइरहेकी हुन्छिन् । अवस्था यस्तोसम्म छ कि दिसासमेत परिवारले सफा गरिदिनुपर्छ । पिसावको लागि पाइपको व्यवस्था मिलाइएको छ ।

 आफ्नो कान्छो सन्तानको यो अवस्थाले आमा कौशिलाको मुटु हरपल छियाछिया पारिरहेको हुन्छ । ०६८ भदौको महिना अधिकारी परिवारका लागि अभिशप्त समयका रुपमा आएको थियो,जतिबेला नाक,कान,घाँटीरोग विशेषज्ञ डा. अधिकारी दुर्घटनामा परे । सिरहाको लहानस्थित कान अस्पतालमा कार्यरत रहेका बेला जनकपुरमा स्वास्थय शिविर सकेर मोटरसाइकलमा फर्किरहेका थिए ।

त्यही क्रममा उनको मोटरसाइकल ठेलासँग ठोक्कियो । उनका सहकर्मी डा. रइस पोखरेलका अनुसार दुर्घटनाको डेढ घन्टापछि ट्राफिक प्रहरीले फोन गरेर जानकारी गराएको थियो । अधिकारीको टाउको फुटेको अवस्थामा विराटनगरस्थित न्युरो अस्पताल पुर्याइयो ।

टाउको रगत जमेको भन्दै चिकित्सकले शल्यक्रिया गर्ने सल्लाह दिए । आइसियूमा राखियो । निमोनिया भएपछि थप उपचारका लागि काठमाडौं लगियो । ३ महिनाराखेपछि घरमै राखेर फिजियोथेरापी गर्ने सल्लाह चिकित्सकले दिए । त्यसपछि उनलाई कैयन अस्पताल पुर्याइयो तर निको भएन,आजको कान्तिपुर दैनिकमा खबर छ ।
Powered by Blogger.