Header Ads

२० वर्षीया सुस्मिताको जन्म दिन नै बन्यो मृत्यु दिन ! मादल बज्नुपर्ने दिन दमाहा बज्यो

जाजरकोट । अर्छानी-५ की सुस्मिता जैसीको चैत १८ गते जन्मदिन थियो । एसएलसी परीक्षा सकेर आनन्दले जन्मदिन मनाउने रहरमा उनी टालेगाउँतर्फ लागिन् । तर चैत १८ उनको मृत्यु दिन पनि बन्यो । जन्मदिनको निम्तो पाएका साथीहरू मलामी बनेर आए । नाचगानका लागि मादल बज्ने घरमा दाहसंस्कारको दमाहा बज्न थाल्यो । अनि वारिगाउँले, पारिगाउँले दाउरा बोकेर घाटतिर झरे ।

सुस्मिता चार घण्टाको उकालो-ओरालो काटी चैत सुरुमै टालेगाउँ पुगेकी थिइन् । दुर्भाग्य, परीक्षा दिइरहेकै समयमा उनी बिरामी परिन् । घर र्फकंदा अरूले बोकेर ल्याउनुपर्‍यो । ‘२० वर्ष पुगेकै दिन उनको मृत्यु भयो,’ उनीसँगै एसएलसी दिएका अर्छानी-९ तम्तीका किरण शाहीले भने, ‘जन्मदिनको शुभकामना दिन ठिक्क परेका बेला मलामी पो जानुपर्‍यो । सबै साथीहरूलाई रुवाएर गइन् ।’ जैसी महामारीकी पहिलो सिकार हुन् । अहिलेसम्म उनीसहित २७ जनाको मृत्यु भइसकेको छ । उनले एसएलसी दिएको परीक्षा केन्द्रबाट सुरु भएको प्रकोप अहिले १३ गाविसमा फैलिइसकेको छ ।
टालेगाउँस्थित मान्नेढुंगा उच्च मावि यस क्षेत्रको परीक्षा केन्द्र थियो । अर्छानी र पैंक गाविसका सबै विद्यार्थीको परीक्षा केन्द्र भएकाले त्यतिबेला त्यहाँ विद्यार्थी र अभिभावकको बाक्लो उपस्थिति थियो । त्यसमध्ये एक्जाम्टेड परीक्षा दिन आएका अधिकांश विद्यार्थी भारतमा कमाउन गएर फर्केका थिए । साथ लागेर आएका अभिभावक पनि भारतबाट फर्केका थिए ।

 एसएलसी चलिरहेकै बेला विद्यार्थीहरू बिरामी हुन थाले । टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, रिंगाटा लाग्ने जस्ता समस्याले विद्यार्थी ग्रस्त भए । २५ विद्यार्थी सिकिस्त भएपछि स्वास्थ्यचौकीको सिफारिसमा ९ कक्ष्ााका विद्यार्थीलाई सट्टामा परीक्षा दिन राखियो । कतिले सिकिस्त भएपछि बीचमै परीक्षा छाडे । चैत १३ देखि बिरामीको संख्या बढ्न थाल्यो ।

 विद्यार्थीसँगै अभिभावक पनि बिरामी पर्न थाले । अर्छानीका दुई र पैंकका तीन विद्यार्थीलाई बोकेरै घर लग्नुपर्‍यो । विस्तारै विद्यार्थी फर्केका हरेक गाउँमा प्रकोप देखिन थाल्यो । पैंक र टालेगाउँमा पनि मृत्यु हुनेको संख्या थपिन थाल्यो । त्यसपछि स्वास्थ्यकर्मीसमेत अत्तालिन थाले । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Powered by Blogger.