Header Ads

कसरी फुट्यो एमाओवादी नेताको टाउको ? पूर्ण पाठ पढ्नुहोस

काठमाडौं, फागुन २५ । सत्ताधारीलाई देखाउने भनिएको एमाओवादी लगायत ३० दलको फागुन १६ को शक्ती प्रदर्शनमा नारायणकाजी श्रेष्ठको नेतृत्वमा अघि बढेको जुलुसमा गंगा श्रेष्ठको टाउको फुट्यो । केन्द्रीय नेतृत्वमध्ये गंगाको टाउकामा आधा दर्जन टाँका लगाएर कान्तिपुर अस्पतालमा ४ दिन बस्नुपर्ने अवस्था बनेपनि उनीभन्दा वरिष्ठ थुप्रै नेताहरु मैदानबाट खुसुक्क दायाँबायाँ लागेका थिए । प्रकाशको नेतृत्वमा जुलुस अघि बढ्ने भन्ने पार्टी निर्णय थियो । भित्री रुपमा आन्दोलन परिचालनका लागि गठित स्वयंसेवक दस्ताका संयोजक गंगा श्रेष्ठ पूर्वी तर्फको जुलुसको बन्दोबस्त गर्दै थिए ।

सबभन्दा अघिल्लो पंक्तिमा सांग्लो बनाएका स्वयंसेवक दस्ता थिए । जुलुस आएपछि काँढेतारको अवरोध बनाएर बसेका सुरक्षाकर्मीले निषेधित क्षेत्र नतोड्न आग्रह गरे । जुलुस त्यहाँ आइपुग्नु अघि तीनकुनेबाटै नारायणकाजीले वानेश्वर वृत्तका डिएसपी दान बहादुर कार्कीसँग फोन सम्पर्क गरी निषेधित क्षेत्रबारे बुझी हुन्छ भनेका थिए । वर्षमान पुन र कृष्ण बहादुर महराले पनि पहिले नै प्रहरीसँग कुरा गरिसकेका थिए । लीलामणि पोखरेलले प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालसँग निषेधित क्षेत्र र जुलुस अघि बढ्ने बाटोका बारेमा बुझेका थिए । अग्नि सापकोटाले काठमाडौका एसएसपी उत्तम कार्कीसँग जुलुसको लागि निर्धारित बाटोका बारेका भनाभन् गनै भ्याइसकेका थिए । निषेधित क्षेत्र तोक्दा पनि सुरक्षाका कारणबाट भन्दा उत्तेजित बनाउने गरी मात्र निर्णय गरिएको भान परेको छ ।

संविधानसभा भवनभन्दा टाढैबाट जुलुस जानसक्ने मुख्य सडकलाई निषेधित क्षेत्र घोषणा गरी भवनसँग जोडिएको पछाडिकोे बाटो तया गर्नु सुरक्षाका कुनै कोणबाट पनि उपयुक्त लाग्दैन । यसबीचमा प्रकाश, अग्नि सापकोटा र गंगाले सुरक्षाकर्मीसँग कुरा गरे । निषेधित क्षेत्र तोडेर जुलुस अघि बढ्न दिन नसकिने र निर्धारित गरिएको बाटोबाट जानका लागि माथिको आदेश सुनाएका सुरक्षाकर्मीको कुरा नेताका मुखबाट कार्यकर्ताले सुने । यसपछि एक्कासी उत्तेजित देखिएका सिन्धुलीका राजन दाहालले सुरक्षादस्ताको नेतृत्व गरिरहेका प्रहरी अधिकृतलाई ‘यो तेरो बाउको मात्र बाटो हो ?’ भन्दै घोक्र्याए । राजनले प्रहरीमाथि हातपात गर्न लागेपछि गंगा र कोचिलाका ट्रेड युनियन नेता तेजलाल कर्णले सडकको काँढे तारवाला अवरोध हटाउन शुरु गरे ।

सुरक्षाकर्मीमाथि हातपात हुनासाथ आन्दोलनकारीहरु उत्साहित भए र मोटरसाइकल अघि बढाए । एकैपटक अघि बढेको राता टोपीधारीहरुले प्रहरीमाथि धावा बोले । यहाँ प्रदर्शनकारी हावी भए । सुरक्षाकर्मी पछि हटे । उनीहरुलाई खेद्दै प्रदर्शनकारीहरु वानेश्वर चोकबाट संविधानसभाको भवनतिर अघि बढे । यसैबेला फेरी सुरक्षाकर्मी आफूलाई सतर्क बनाउँदै जाइलागे । अब पछि हट्ने पालो प्रदर्शनकारीको थियो । स्वयंसेवकका नाममा लडाकु दस्ताको संयोजक बनेका गंगा भिडन्तबाट पछि हट्ने कुरै थिएन । उनी अग्रपंक्तीमै रहेर प्रहरीसँग भिड्न लागे भने त्यहाँ रहेका हरिबोल गजुरेल, अग्नि सापकोटा, लीलामणि पौडेल, गोपाल किराँती, शशी श्रेष्ठ, कुमार पौडेल, प्रल्हाद बुढाथोकी, महिला संगठन संयोजक सीता पोखरेल खुसुक्क दायाँबायाँ लागेका थिए । शशीले पछि हट्दाहट्दै एक लाठी भेटिन् भने प्रहरीलाई हातपात गरी वातावरण उत्तेजित बनाउने राजन भने सुरक्षित हुन खोज्दै गर्दा प्रहरीको दुई लाठी भेटेर कुलेलम ठोके ।

एमालेबाट माओवादी प्रवेश गरेका सिन्धुलीका आन्दोलन परिचालन कमिटीका संयोजक विषम अधिकारी सुरक्षाकर्मीसँगको भिडन्तमा नदेखिए पनि राजनको लहैलहैमा प्रहरीसामु पुगी चुटाई भेटेका राजन मैनाली, यम देवकोटाको उपचारका लागि हस्यांगफस्यांग गर्दैथिए । साइड लाग्दैगर्दा प्रहरीको प्रहारमा परेका हरिबोल गजुरेललाई उनकै सुरक्षाका लागि खटिएका केसीले गलहत्याएर कुटाइबाट जोगाए पनि केसीकै टाउकामा भने ४ टाँका लगाउनु पर्यो । प्रहरीले खेद्न थालेपछि एमाले छाडी माओवादी बनेकी सिन्धुलीकी सविता कोइराला र गणेश बुढाथोकीको निजामती अस्पतालतर्फको म्याराथुन हेर्न लायक थियो ।

धन्न बाँचे सशस्त्र प्रहरी
प्रदर्शनकारी प्रभावी भएका बेला उनीहरुले एक सशस्त्र प्रहरीलाई घेराउमा पारी निर्मम सामूहिक चुटाइ गरे । टाउको फोरिएको र अनुहारबाट रगतको धारा बगेको प्रहरीमाथि थुप्रै लडाकु खालका लात्ती, मुक्का र भाटाको प्रहारलाई केही माओवादी निकटहरुले सरकारमाथि आन्दोलनकारीको जीतका रुपमा पनि चरितार्थ गरे । लगातारको भकुराईबाट बेहोस जस्तै बनेका प्रहरीलाई अन्तमा माओवादी नेताले नै गएर बचाएका थिए । प्रदर्शनमा गएपनि यो सबै दृश्य हेरी बसेका एक माओवादी कार्यकर्ता भन्छन् नजोगाएका भए ती प्रहरीलाई त्यहीं कुटेर मार्ने थिए । कुट्न छाडेपछि प्रदर्शनकारीद्धारा नै उठाइएका उनी लर्खरिंदै खुट्टा टेकेर अघि बढेका थिए । - स्रोत / हाम्रो संदेशबाट
Powered by Blogger.