Header Ads

बलात्कार आरोपीलाई जेल तोडेर सडकमा कुटीकुटी मार्ने १४ जना पक्राउ

नयाँ दिल्ली, फागुन २४ । भारतीय राज्य नागाल्याण्डको दिमापुरमा बलात्कार आरोपीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। बलात्कारको घटनाबाट आक्रोशित भिडले गत साता जेलमा आक्रमण गरेर आरोपीलाई सडकका ल्याएर खुलेआम कुटेर मारेको थियो ।

 पक्राउ परेकाहरुसँग प्रहरीले सोधपुछ गरिरहेको जनाएको छ। केन्द्र सरकारले राज्य सरकारलाई शनिबार उक्त घटनामा संलग्नहरुमाथि कडा कारबाही गर्न निर्देशन दिएको थियो । यसअघि दिमापुरमा नागाल्याण्ड प्रहरी अधिकारीहरुले सैयद फरिद खानको हत्यामा संलग्न व्यक्तिहरुको पहिचान भइसकेको जनाएको थियो । पक्राउ परेकाहरुमाथि चाँडै मुद्दा चलाइने प्रहरीले जनाएको छ।

दिमापुर प्रहरीले आइतबार बिहान १४ जना पक्राउ परेको पुष्टि गरेको हो । यसअघि शनिबार प्रहरीले मृतकको शव आसम–नागाल्याण्ड सीमा क्षेत्रमा परिवारजनलाई बुझाएको थियो । उनको शव आसमको करिमनगर जिल्लास्थित उनको गृहनगर पुराएपछि गाउँमा तनाव सिर्जना भएको थियो । खानका भाई जमालुद्दिन खानले आफ्नो दाईलाई बलात्कारको आरोपमा फसाइएको दावी गरे ।

उनले बलात्कृत भनिएकी महिलाको मेडिकल जाँचमा यौन उत्पीडनको कुनै संकेत नदेखिएको बताए । पूराना कार खरिदविक्री व्यवसाय गर्ने ३५ वर्षीय खानमाथि एक २० वर्षीया नागा महिलाका साथ २३ र २४ फेब्रुअरीमा दुई भिन्नभिन्न स्थानमा बलात्कार गरेको आरोप लगाइएको थियो । प्रहरीले खानलाई २५ फेब्रुअरीका दिन पक्राउ गरेर हिरासतमा पठाएको थियो ।

नागाल्याण्ड राज्य सरकारले यो घटनाको न्यायिक छानविनको आदेश दिएको छ। सरकारले तीन बरिष्ठ प्रहरी अधिकारीलाई निलम्बित गरेको छ। नागाल्याण्डका मुख्यमन्त्रीले यो घटनामा प्रशासनिक लापरबाही भएको स्वीकार गरेका थिए । यता मृतकको पक्षमा आसममा ट्रक चालकहरुले दिमापुर–नागाल्याण्डमा हड्ताल सुरु गरेका छन् । विभिन्न १७ वटा संगठनले पीडितले न्याय नपाएसम्म विरोध जारी राख्ने बताएका छन् । एजेन्सी
Powered by Blogger.