Header Ads

वैदेशिक रोजगार पीडितलाई अध्यक्ष प्रचण्डले भने–पीडितलाई न्याय दिलाएर छाडिन्छ

काठमाडौँ, चैत ६ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा देखिएको समस्या समाधान गर्न सरकारसँग छलफल गर्ने बताउनुभएको छ । मुलुकभित्र रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेकाले दलालले योजनाबद्धरुपमा नेपाली युवालाई ठगी गरेको भन्दै उहाँले ठगी नियन्त्रण गर्नका लागि व्यवस्थापिका–संसदमा विशेष प्रस्ताव लैजाने र पीडितलाई क्षतिपूर्तिका लागि पहल गर्ने बताउनुभएको हो ।

दक्षिण कोरियाको पानीजहाज कम्पनीमा काम लगाइदिने भन्दै नयाँ बानेश्वरको युनाइटेड एचआर कन्सल्ट्यान्सी एन्ड टे«निङ सेन्टरले ३७ जना युवालाई ठगी गरेको भन्दै पीडित युवा न्याय खोज्दै आज एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाट पुगेका थिए ।

पीडित युवासँगको भेटमा अध्यक्ष दाहालले सरकारले विद्यमान ऐन तथा नियमलाई कडा बनाउन नसकेका कारण समस्या परेको, वैदेशिक रोजगार प्रवद्र्धन विभागले गलत काम गर्नेलाई कारबाही गर्न नसकेको र विदेश जान चाहने युवाले पनि सत्यतथ्य बुझन् नसक्दा समस्या भएको भन्दै समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

दक्षिण कोरिया पठाइदिने भन्दै सो सेन्टरले खिमबहादुर पछाई, अभिनास पोखरेल, शिवकुमार बस्नेत, आकाश घले, सुरेन्द्र खड्का, दिपेन्द्र पोखरेल, शङ्कर गुरुङ, रोशन राई, रुद्रबहादुर अधिकारीलगायत ३७ जना युवालाई ठगी गरेको बताइएको छ । अध्यक्ष दाहालले आफूले सो विषयमा प्रधानमन्त्री सुशील कोइरालासँग नै समस्या समाधानका लागि आग्रह गर्ने वचन दिनुभएको पीडितमध्येका एक खिमबहादुर घलेले जानकारी दिनुभयो ।

वैदेशिक रोजगार विभाग काठमाडौँले ती युवालाई रोजगारीका लागि श्रम स्वीकृति दिएको थियो । उक्त कन्सल्ट्यान्सीका शारदाकुमार मगर, प्रकाश तिवारी, दानबहादुर पुन र अप्सरा श्रेष्ठलाई ठगीको आरोप लागेको छ ।
Powered by Blogger.