Header Ads

लभ गरेकी केटी भित्र्याउन नदिएपछि बाबुसँग छोराले मागे १५ लाख फिरौती

काठमाडौं । परिवारसँग अलग वस्न एक युवकले अपहरणको नाटक गरेका छन्। ललितपुर इमाडोलका १७ वर्षीय अञ्जन ठाकुरले शनिबार आफ्ना बाबु कृष्णबल्लभलाई फोन गरी अपहरणको नाटक गरेका हुन्। बिहान सवा १० बजे अञ्जनले एनसेलको नम्बरबाट ' तपाइँको छोरा हाम्रो कब्जामा छ, जिउँदो चाहिन्छ भने १५ लाख फिरौति देउ' भन्दै बाबुलाई धम्क्याएका थिए।

नचिनेको नम्बरबाट छोरा अपहरणमा परेको र धम्कीपूर्ण फिरौती माग भएपछि कृष्ण बल्लभ प्रहरीसम्पर्कमा पुगेका थिए। सुरूमा प्रहरीले अपहरण नै हो की भनेर अनुसन्धान सुरू गरेको थियो। शनिबार बिहान देखि राती अबेर सम्म अपहरणकारीको खोजीमा प्रहरी जुट्यो। आईतबार विहान फिरौति लिन बोलाएर फोनको लोकेशनका आधारमा अञ्जनलाई इमाडोल सानागाउँबाट प्रहरीले पक्राउ गर्‍यो।

 अञ्जनले अपहरणको नाटक गर्नुको पछाडीको कारण खोज्दै जाँदा उनी परिवारबाट अलग बस्न चाहेका रहेछन्। प्रहरीका अनुसार अञ्जन एक युवतीलाई मन पराउँथे। तर, घर परिवारले स्वीकृति नदिएपछि अञ्जनले अलग बस्ने सोच बनाएको प्रहरी बयानमा खुलाएका छन्। अपहरणको नाटक गरी फिरौति मागेको रकम प्राप्त भएमा सोही पैसाले घरजम गर्ने सोचमा अञ्जन रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँन्।

महानगरीय प्रहरी अपराध महाशाखाको शाखा कार्यालय ललितपुर परिसरका प्रहरी निरीक्षक नरेन्द्र चन्दले अञ्जनले जानीजानी अपहरणको नाटक गरेको बताए। उनले भने,' अञ्जन कुनै युवतीलाई मन पराउने रहेछन्, परिवारले नदिएपछि अलग हुने सोचमा अपहरणको नाटक गरेको रहस्य पछि मात्रै खुल्यो, १७ वर्षे युवकमा पलाएको अपराध मानसिकताले हामीलाई अचम्मित तुल्यायो।'

घटना अनुसन्धान तथा कारबाहीको लागि अञ्जनलाई महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ। -फोटो :फाइल तस्‍बिर/अन्नपूर्ण
Powered by Blogger.