पैसा माग्दै भाउजु कुट्ने देवरले बिताए
काठमाडौं, चैत ८ । आफ्नै देवरबाट कुटिएकी कैलाश गाविस घर भएकी पारसीदेवी सिंहले न्याय नपाएपछि सदरमुकाम चैनपुरमा उनको बिचल्ली भएको छ । देवर वकिलबहादुरले पैसा नदिएको भन्दै पारसीलाई कुटपिट गरी सख्त घाइते बनाएपछि उनी न्याय खोज्दै झन्डै तीन साता अगाडि सदरमुकाम चैनपुर आएकी थिइन् ।

न्यायका लागि चैनपुर आएकी पारसीले वडा प्रहरी कार्यालयमा देवरलाई पक्राउ गरी आवश्यक कारबाही गर्न निवेदन दिएकी थिइन् । दोषीलाई प्रहरीले पक्राउ गर्न नसकेपछि घरमा गए फेरि कुटपिट गर्छ कि भन्ने डरले उनी घर फिर्ता भएकी छैनन् । एघार दिनदेखि चैनपुरको होटलमा बस्दै आएकीले पारसीको खान र बस्नका लागि पैसा कसरी तिर्ने भन्ने चिन्ताले मन पिरोलिएको छ ।
‘एकल महिला भत्ता बुझेको रु दुई हजार पनि उपचारमा सकियो’ पीडित पारसीले रुँदै भनिन् “सरकारले यस्ता अपराधीलाई कानुनी दायरामा नल्याउँदा मजस्ता कैयौँ महिलाले न्याय पाएका छैनन्” वकिल सिंह कैलाश पिमी गाउँमै रहेका र प्रहरी जाँदा जङ्गलमा फरार हुने गरेको बुझिएको छ । कुटपिटपछि न्यायका लागि चैनपुर आएकी आमा घरमा नफर्केपछि नाबालक छोरी स्मृता आमाको खोजीमा चैनपुर आएकी थिइन् ।
घाइते पारसीले तीन दिनसम्म जिल्ला अस्पताल बझाङमा उपचार गराएर आठ दिन महिला सेफ हाउसमा बसेपछि उनलाई त्यहाँबाट हटाइएको छ । प्रहरी नायब उपरीक्षक हीराबहादुर पाण्डेले कुटपिटमा संलग्न वकिलबहादुरलाई पक्राउ गर्न पटक पटक प्रहरी पठाए पनि उनी फरार हुँदा पक्राउ गर्न नसकेको जानकारी दिए ।
