साउदीमा आमा हराइन्, नेपालमा बाबा बिते : वैदेशिक रोजगारीसँगै नेपाली समाजमा भित्रिएको दुर्दशा !
काठमाडौं । ८ वर्षअघि परिवारको खुसी किन्न साउदी अरब गएकी नवलपरासीकी आनन्दकुमारी आले अहिलेसम्म घर फर्किएकी छैनन् । श्रीमती सम्पर्कविहीन भएपछि चिन्तामा डुबेका टोपलबहादुरको गत फागुन ७ गते मृत्यु भयो ।
आमा बेपत्ता र बुवाको मृत्युपछि २० वर्षीया देवी आलेलाई अहिले दैव लागेजस्तै भएको छ । हातमुख जोर्ने उपाय केही छैन । आफ्नो ज्यान धान्नु त छँदैछ, भाइ झबिलालमाथिको जिम्मेवारी र दायित्व पनि उत्तिकै छ ।
कावासोती-३ नवलपरासी घर भएकी आनन्दकुमारी देवीसहित ३ छोरी र १ छोरालाई घरमा छाडेर ०६६ साल मंसिरमा साउदी अरबमा घरेलु काम गर्न गएकी थिइन् ।
तर, आनन्दकुमारीले अहिलेसम्म घरमा एक रुपैयाँ पनि पठाएकी छैनन् । ‘एकपटक बैंकमा खाता खोल, म पैसा पठाइदिन्छु भनेर फोन गर्नुभएको थियो, मैले बैंकमा खाता पनि खोलें । तर, न पैसा आयो, न आमा,’ पाँच वर्षअघिको कुरा सम्झिँदै छोरी देवीले भनिन् । आफन्तहरुले कहिलेकाँही दिने पैसाले देवी र भाइ बहिनीहरुको दैनिक गुजारा चलिरहेको छ । आमाकै पीरले बुवा बितेपछि देवीको पढाइ पनि वीचमै रोकिएको छ । ‘आमाको प्रतिक्षा गर्दागर्दै रोग र शोकले बुबा पनि बित्नुभयो, अब यही भाइसँग आमालाई पर्खेर बसिरहेकी छुँ,’ उमेरले भर्खरै २० काटे पनि परिपक्व कुरा गर्ने देवीले भनिन्, ‘आमाबुवा भैदिएको भए, मैले पनि एसएलसी पास गर्ने थिएँ ।’ पाँच कठ्ठा जग्गामध्ये तीन कठ्ठा जग्गा बेचेर बुबाको उपचार गर्दा लागेको ऋण तिरिन् देवीले ।
अहिले सम्पत्तिका नाममा २ कठ्ठा जग्गा मात्र छ ।
घर व्यवहार आफ्नै थाप्लोमा आएपछि एसएलसीसम्म पढ्ने धोको पूरा गर्न नपाएको देवीले सुनाइन् । आफूले पढ्ने, जागिर खाने र भाइलाई धेरै पढाउने उनले इच्छा व्यक्त गरिन् । आमाको उद्दारको पहल गरिदिन भन्दै शुक्रबार सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा आएकी देवीले परामर्शदाताहरुलाई सोधिन्, ‘तपाईजस्तै यसरी काम गर्न कतिसम्म पढ्नुपर्छ ?’
वीचमै टुटेको पढाइलाई निरन्तरता दिने चाहना मिश्रित देवीको प्रश्नको उत्तर परामर्शदाता रञ्जना लम्सालसँग थिएन । लम्सालसहित कार्यालयका अरु कर्मचारीहरु मुखामुख गरे । तर, मौन बसिरहे ।
केही मिनेटको मौनता तोड्दै लम्सालले भनिन्, ‘तपाईंकी आमालाई खोज्न हामी कोशिस गर्छौं ।’तर, आनन्दकुमारीले अहिलेसम्म घरमा एक रुपैयाँ पनि पठाएकी छैनन् । ‘एकपटक बैंकमा खाता खोल, म पैसा पठाइदिन्छु भनेर फोन गर्नुभएको थियो, मैले बैंकमा खाता पनि खोलें । तर, न पैसा आयो, न आमा,’ पाँच वर्षअघिको कुरा सम्झिँदै छोरी देवीले भनिन् । आफन्तहरुले कहिलेकाँही दिने पैसाले देवी र भाइ बहिनीहरुको दैनिक गुजारा चलिरहेको छ । आमाकै पीरले बुवा बितेपछि देवीको पढाइ पनि वीचमै रोकिएको छ । ‘आमाको प्रतिक्षा गर्दागर्दै रोग र शोकले बुबा पनि बित्नुभयो, अब यही भाइसँग आमालाई पर्खेर बसिरहेकी छुँ,’ उमेरले भर्खरै २० काटे पनि परिपक्व कुरा गर्ने देवीले भनिन्, ‘आमाबुवा भैदिएको भए, मैले पनि एसएलसी पास गर्ने थिएँ ।’ पाँच कठ्ठा जग्गामध्ये तीन कठ्ठा जग्गा बेचेर बुबाको उपचार गर्दा लागेको ऋण तिरिन् देवीले ।

कसरी हराइन् देवीकी आमा ?
देवीका अनुसार आमालाई उनकै सानिमाले विदेश पठाएकी थिइन् । सानिमासँग सोध्दा आफूलाई थाहा नभएको जवाफ पाउँछिन् । सानिमालाई कहिले भेटेर त कहिले फोन गरेर आमाको अवस्था बुझ्छिन् देवी । ‘तर, चित्तबुझ्दो जवाफ मैले कहिले पनि पाइँन, आजभोलि त सानिमाको नम्बरमा फोन पनि लाग्दैन,’ आमाको श्यामस्वेत फोटो छातीमा टाँस्दै देवीले भनिन्, ‘हे भगवान् ! अब मैले मेरी आमालाई कसरी खोजुँ ?’
छोरो साउदीमा वेपत्ता, बुबा भारत पलायन
देवीको जस्तै कथा छ गुल्मी ८ मुसीकोटकी कमला महतको । कमलाले छोरा विदेशबाट फर्कन्छन् कि भनेर आश गर्दै बसेको २ बर्ष भैसक्यो । तर, साउदी गएका छोरा मीनबहादुरको अत्तोपत्तो छैन । कमलाका पति पनि भारत पलायन भए । अहिले घरमा पति र छोरोबिनै दिनरात कटाइरहेकी छन् उनले । ‘जेठाले आमा म पैसा कमाएर आउँछु है भन्थ्यो,’ ५२ बर्षीया कमलाले दुईवर्ष अघिको कुरा सम्झिँदै भनिन्-‘तर अहिले कुन अवस्थामा छ, केही थाहा छैन ।’ घरका जेठा छोरा मीनबहादुर पैसा कमाउन भन्दै ०६९ पुस २८ गते साउदी अरब गएका थिए । छोराले पैसा पठाउला र घर खर्च चलाउँला भन्ने आश मरेपछि उनका बुबा रामबहादुर बुढेसकालमा भारत पलायन भएका छन् । ५७ बर्षका रामबहादुर मजदुरी गरेर आफै पैसा कमाउन भन्दै दुई महिनाअघि भारत गएका हुन् । कमलाका साथमा हाल २ छोरा छन् । तर जेठोको यादले धेरै सताउँछ उनलाई । छोरालाई विदेश पठाएकोमा पछुतो लागेको छ उनलाई । कमला भन्छिन्, ‘विदेश पठाएर गल्ती गरें मैले, नत्र यतिबेला छोरो यही घरमा भित्रबाहिर गरेको त देख्न पाइन्थ्यो ।’ नेपालमा काम गर्ने अवसर नपाएको भन्दै ३१ वर्षको उमेरमा मीनबहादुर साउदी गएका हुन् । अमरापुरी १ नवलपरासी बस्ने दिदी हिमा क्षेत्रीको घरबाट विदेश प्रस्थान गरेका उनी अहिलेसम्म बेखबर छन् ।
मापसे गर्दा जेल चलान
सामान्य ज्ञान नहुँदा अर्का एक नेपालीले साउदी अरबमा जेल जीवन बिताइरहेका छन् । नवलपरासी बेनिमणिपुर-२ का ललितबहादुर चौधरीलाई साउदी अरबमा मदिरा सेवन तथा ओसारपसार गर्न हुँदैन भन्ने ज्ञानको अभावले गत कात्तिकमा प्रहरीले पक्राउ गर्यो । ‘घर आउने बेला भएको थियो, हामी उहाँको बाटो हेरिरहेका थियौं,’ ललितबहादुरकी श्रीमती सिन्धुले भनिन्, ‘३ महिनामा छुट्छु भन्नुभएको थियो, पाँच महिना भैसक्यो, अझै जेलममै हुनुहुन्छ रे ।’ श्रीमती, एक छोरा र दुई छोरीलाई घरमै छाडेर ललितबहादुर ०६९ साल पुसमा साउदी गएका थिए । विदेश जानेबेला सम्वन्धित देशको भाषा, धर्म, संस्कृति, ट्राफिक नियमलगायत ज्ञानका लागि कम्तिमा दुई दिनको अभिमुखीकरण तालिम लिनुपर्ने बाध्यकारी नियम छ ।
तर, त्यसको प्रभावकारी अनुगमन र नियमन नहुँदा खाडी मुलुकमा सोझसाझा नेपालीले हरेक दिन दुःख भोगिरहेका छन् । ‘अभिमुखीकरण तालिममा नबसे पनि प्रमाणपत्र सजिलै किन्न सकिने र एजेन्टहरुले अभिमुखीकरणलाई बोझिलो तरिकाले ब्याख्या गरिदिनाले पनि यस्ता समस्या निम्तिन्छन्-‘सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका एक कर्मचारीले भने । सूचना केन्दमा दर्ता भएको ललितबहादुर चौधरीको समस्या प्रवासी नेपाली समन्वय समितिमार्फत दुतावासमा पुगिसकेको र उनको सत्य तथ्य पत्ता लगाएर सहयोग गर्ने साउदीमा रहेको नेपाली दुतावासले जनाएको छ ।-अनलाइन खबर बाट
