कैदी भगाउने इन्स्पेक्टर र तीन प्रहरी हिरासतमा
काठमाडौ, चैत्र ११ । डिल्लीबजार कारागारका कैदी पासाङ शेर्पालाई भगाउन भूमिका खेलेको पाइएपछि इन्सपेक्टर रविन्द्र रञ्जितसहित चार प्रहरीलाई काठमाडौं जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा पठाएको छ।
अस्पताल जाने बहानामा गत फागुन २६ गते शेर्पा भागेका थिए।

त्रिपुरेश्वरस्थित आँखा अस्पतालबाट बौद्धस्थित डेरामा पुगी उनी प्रहरीलाई छक्याएर भागेको बताइएको छ। कारागारका प्रहरी प्रमुख रञ्जितकै निर्देशनमा कैदी शेर्पालाई गैरकानुनी ढंगले डेरामा पुर्याएको थियो।
छानबिनका क्रममा घटनामा उनको संलग्नता देखिएपछि कारागार प्रशासनले मुद्दा दायर गरेको थियो। इन्स्पेक्टरसहित कैदी शेर्पालाई डेरामा लिएर जाने तीन प्रहरीलाई पक्राउ गरी मुद्दा चलाएको थियो।
अदालतले चारै जनालाई पूर्वपक्षका लागि थुनामा राख्ने आदेश गरेपछि उनीहरूलाई केन्द्रीय कारागारमा राखिएको महानगरीय प्रहरी कार्यालयका एसएसपी शुरेशविक्रम शाहले बताए।
