Header Ads

बेथानको एसएलसी : परीक्षार्थीको संवेदनशील अंगमा हात पुऱ्याउनेदेखि कपाल भुत्ल्याउनेसम्म

काठमाडौं,चैत ७ । रामेछापको बेथान गाविसमा पर्ने कुशेश्वर उमावि परीक्षा केन्द्रमा एसएलसी दिन पुगेका विद्यार्थीरु शिक्षक–शिक्षिकाको अमानविय व्यवहार भोग्न बाध्य भएका छन् । परीक्षा केन्द्र छिर्नुअघि मुलगेटमा बडि सर्च गर्न बसेका शिक्षक–शिक्षिकाको अमानविय व्यवहार, निरीक्षक र केन्द्राध्यक्षको पटक–पटकको ‘रातो मसी लगाइदिने’ धम्किले सो केन्द्रका विद्यार्थीहरु त्रासपूर्ण वातावरणमा परीक्षा दिन बाध्य भएका छन् । ‘सर्च गर्ने नाममा हाम्रा नानीहरुको संवेदनशिल अंगमा हात पुऱ्याउन मिल्छ ?’ डहु माविका प्रअ दलवहादुर बलले प्रश्न गरे । पशुपति उच्च माविका एक शिक्षककाअनुसार गत बिहीवारको परीक्षा शुरु हुनुअघि चेकजाँचको क्रममा शिक्षिकाहरुले एक किशोरीको गुप्ताङ्ग र स्तनमा कपडाभित्रै हात पु¥याएर सर्च गरेका थिए । छात्रा र आफु दुवैको नाम गोप्य राखिदिने शर्तमा ति शिक्षकले भने– ‘यो एक प्रकारको यौन हिंसा हो, केटा साथीहरुको अगाडि केटी मान्छेको गुप्ताङ्गमा हात पु¥याउँदा उनमा कति मानसिक तनाव भयो होला ?’

ति छात्रा पुशपति उमावि हिलेदेवीबाट बेथान परीक्षा केन्द्रमा परीक्षा दिन आएकी थिइन् । बिहीबार बेथान परीक्षा केन्द्रमा परिक्षार्थीको बडि सर्च गर्ने क्रममा अर्को घटना घट्यो । हुलमुल बढेको देखेपछि एक छात्रा फटा–फट कक्षाकोठातर्फ अगाडि बढ्न खोजिन् । त्यस्तोमा नजिकबाट नियालिरहेका केन्द्राध्यक्ष डम्बर बहादुर कार्की कड्किए– ‘यसलाई किन त्यतिकै छाडेको ?’ त्यसपछि बडि सर्च गर्न बसेकी एक शिक्षिका दौडिँदै गइन् र पछाडिबाट कपला समातेर गेटतिर ल्याइन् । ठिक त्यहि प्रसंगमा एक अभिभावक भन्दै थिए– ‘त्यसरी कपाल भुत्ल्याउँने शिक्षिकालाई झापड हान्नुपर्ने !’


नियम मिचेर निरीक्षक

बेथान परिक्षा केन्द्रका केन्द्राध्यक्ष डम्बरबहादुर कार्कीले एसएलसी परीक्षाको नियमावली मिचेर परीक्षा निरीक्षक नियुक्त गरेका छन् । एसएलसी परीक्षा नियमावलीअनुसार प्रावि तहका शिक्षक–शिक्षिका मात्र परीक्षा निरीक्षकका रुपमा कक्षाकोठामा भुमिका निर्वाह गर्न सक्छन् । तर, बेथान परीक्षा केन्द्रमा भने धेरैजसो निरीक्षक उच्च माध्यमिक र माध्यमिक तहका छन् । यसबारे जिज्ञासा राख्दा केन्द्राध्यक्ष कार्कीले भने– ‘प्राविका मेनपावर मात्रैले पुगेन त्यसैले निमावि तहकालाई प्रयोग गरेका छौं ।’

उनले निमाविसम्मको मेनपावर मात्रै निरीक्षकका रुपमा राखेको दावी गरेपनि सोही विद्यालयमा ‘प्लस टु लेभल’ मा अंग्रेजी पढाउँदै आएका नेत्र घिमिरेलगायतका उल्लेख्य शिक्षक–शिक्षिकाले कक्षाकोठा सम्हालिरहेका थिए । कुशेश्वर उमावि स्रोतकाअनुसार नियमविपरित निजी स्रोतमा कार्यरत दुई शिक्षकलाई पनि कार्कीले– ‘भत्ता राम्रै आउँछ बस न’ भन्दै कक्षा निरीक्षक नियुक्त गरेका थिए । विद्यार्थी सहभागी विद्यालयका प्रावि शिक्षकहरुलाई निरीक्षक नराख्न र आफ्नै विद्यालयको मेनपावरले परीक्षा संचालन गर्न जिसिअ खुविराम अधिकारीले आफुलाई निर्देशन दिएकाले यस्तो गरिएको कार्कीले बताए ।

कक्षा कोठामा विद्यार्थीलाई धम्कि

बेथान परिक्षा केन्द्रका परीक्षार्थीहरुलाई कक्षा निरीक्षक र केन्द्राध्यक्षले पटक–पटक ‘रातो मसी र रेष्टिगेट’ को धम्कि दिन थालेपछी विद्यार्थीहरु त्रासमा परीक्षा दिन बाध्य भएका छन् । ‘सरले जतिवेला पनि दायाँ–बायाँ हेरेमा ‘रेष्टिगेट’ मात्रै भन्नुहुन्छ’ परीक्षार्थी विमला तामाङले भनिन् । निरीक्षकले पटक–पटक ‘रेष्टिगेट’ भनिरहँदा बेला–बेला कक्षाकोठामा पुग्ने केन्द्राध्यक्षले भने– ‘कपी बाहेक अन्यत्र हेरेको देखेमा रातो मसी लगाइदिन्छु’ भन्ने गरेका छन् । ‘अलिकती लेख्न थाल्यो,कालो टोपी लगाउने सर आएर थर्काइहाल्नु हुन्छ’ कृष्ण मावि डोग्मामा अध्ययनरत एक छात्रले भने । कक्षाकोठामा विद्यार्थीलाई त्रास देखाउने प्रसंगमा अभिभावक चित्र मानन्धर भन्दै थिए– ‘हाम्रा नानीहरु परीक्षा दिन आएका हुन्, यिनीहरुको धम्कि सुन्न आएका हैनन् ।’

पत्रकारलाई प्रवेश निषेध

एसएलसीको रिपोर्टीङका लागि बेथान पुगेको रातोपाटी टिमलाई गेटमै दुव्र्यवहार गर्दै केन्द्राध्यक्ष डम्बर कार्कीले भने ‘रातोपाटी कालोपाटी म जाँन्दिन, शिक्षा अधिकारीको पत्र बिना कुनै पाटी पनि यो केन्द्रमा छिर्न सक्दैन ।’ पछि रामेछापका जिल्ला शिक्षा अधिकारीको सम्पर्कपछि बल्ल परीक्षा केन्द्रमा छिर्ने अनुमति दिएका कार्कीले सुचना विभागको पास हेर्दै भने– ‘यस्तो पास त डुप्लीकेट पत्रकारले पनि बोक्छन् नी, पत्रकारको नाममा दशथरी मान्छे छिरेको मलाई मन पर्दैन ।’ परिक्षा केन्द्र छिरेको केही मिनेटपछि घडी हेर्दै कार्कीले आदेशात्मक शैलीमा भने– ‘ल,अब तपाईहरु गइदिनुस, मलाई मेरो ढंगले परीक्षा चलाउन दिनुस ।’

पछुताउँदै प्रधानाध्यापक

कुशेश्वर उमावि बेथान परीक्षा केन्द्रमा सातओटा विद्यालयका जम्मा २८९ परिक्षार्र्थी संलग्न छन् । आफ्ना केटाकेटीहरु परीक्षा दिइरहेका बेला परीक्षा केन्द्र वरीपरी दर्जनौंको संख्यामा अभिभावकहरु यत्रतत्र टहलीइरहेका थिए । तिनै अभिभावकको भिड्मा परिक्षार्थी सम्मिलित माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु पनि मिसिएर यत्रतत्र टहलीइरहेका थिए । किन भित्र नजानुभएको ?

प्रतिकारको प्रश्नको सामना गर्दै जलदेवी मावि खनियापानीका प्रअ कृष्ण कुमार खड्काले भने– ‘पहिल्यै हामीलाई केन्द्र भित्र पस्न नपाउने माईन्युटमा हस्ताक्षर गराइएको छ ।’ परीक्षा केन्द्र व्यवस्थापन समितिको बैठकमा कुनै विद्यायका प्रअ पनि परीक्षा केन्द्रमा छिर्न नपाउने गरि केन्द्राध्यक्षले हस्ताक्षर गराएपछि प्रअहरु यसरी बाहिरै बस्न बाध्य भएका हुन् । यसबारे प्रश्न गर्दा केन्द्राध्यक्ष कार्कीले भने– ‘दशथरी मान्छे भित्र ल्याउँदा विद्यार्थीलाई डिस्टर्ब हुन्न,प्रहरीलाई त भित्र छिर्न दिएको छैन ।’ यस्तोमा प्रधानाध्यापकहरु भने पछुताउँदै भनिरहेका थिए– ‘बेकार हस्ताक्षर गरिएछ, भित्र परीक्षामैत्री वातावरण भए–नभएको पनि हेर्न जान पाइएन ।’

को हुन् डम्बर कार्की ?

रामेछापको मझुवा गाविसमा स्थायी घर भएका कार्की लामो समयदेखि कुशेश्वर उमावि बेथानमा शिक्षकका रुपमा कार्यरत थिए । करिब डेढ बर्ष अघि बद्रिकुमार प्रअबाट खड्का रिटायर्ड भएपछि विद्यालयको प्रअका रुपमा अध्यापनरत कार्की स्कुल नजिकैको ससुराली घरमा बसेर अध्यापन गरिरहेका छन् । गत बर्ष आफ्नी छोरीलाई ‘चिट चोराउनु पर्छ’ भन्दै सिन्धुलीको खुर्कोट परीक्षा केन्द्र पुगेका कार्की यसपटक भने बेथान केन्द्रको केन्द्राध्यक्ष बनेका हुन् । (बेथानबाट फर्केपछि) -स्रोत रातो पाटी बाट 
Powered by Blogger.