Header Ads

२०७२ सालमा सार्बजनिक बिदा कति दिन परे त ? थाहा पाउनुहोस्

काठमाडौं । २०७२ सालमा सार्वजनिक बिदाको संख्या घटेको छ । नेपाल पञ्चांग निर्णायक समितिले केही दिनमै सार्वजनिक गर्न लागेको पात्रोमा सार्वजनिक बिदा संख्या घटेको हुनेछ । पर्व चाड, दिवस, जात्रा, जयन्ती, दसैं, तिहार उती नै भए पनि कतिपय चाडपर्व र जन्मजयन्ती एकै दिन जुध्न गएका छन् । कतिपय शनिबार नै परेकाले २०७२ सालमा सार्वजनिक बिदा घट्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । २०७१ सालमा झन्डै १ सय सार्वजनिक बिदा थिए ।

२०७२ मा शनिबारसहित कुल ८० सार्वजनिक बिदा पर्ने भएको छ । यसमा उपत्यकाको हकमा थप चार र महिलाका लागि थप तीनओटा बिदा छन् । समितिले बिदाका लागि तयार पारेको सूचीअनुसार यो वर्ष ५१ ओटा शनिबारका बिदा परेका छन् । यसैगरी, महिलालाई, उपत्यकालाई मात्र, कुनै क्षेत्रका लागि मात्र छुट्ट्याइएकाबाहेक ३० ओटा बिदा चाडपर्व, दिवस, दसैं, तिहार, जन्मजयन्ती समावेश छन् । वैशाखमा चार शनिबारसहित १ गते नयाँ वर्ष, ११ गते लोकतन्त्र दिवस, १८ गते मजदुर दिवस तथा २१ गते बुद्ध जयन्ती र उभौली पर्व परेका छन् । त्यस्तै, जेठमा ५ शनिबारबाहेक १५ गते गणतन्त्र दिवस मात्र परेको छ । असार र साउनमा शनिबारबाहेकका कुनै अन्य बिदा छैनन् ।

भदौमा चाडपर्व परे पनि कुनै शनिबारै परेको छ । यो महिनामा उपत्यकालाई मात्र बिदा हुने गाईजात्रा १३ भदौमा, कर्मचारीलाई मात्र बिदा हुने निजामती सेवा दिवस २२ भदौमा परेको छ । महिलालाई मात्र बिदा हुने हरितालिका तीज ३० भदौ र १२ भदौ शनिबारका दिन रक्षबन्धन पर्व तथा १९ भदौ शनिबारकै दिन कृष्णअष्टमी र गौरा पर्व परेको छ । ५ शनिबार परेको असोजको पहिलो दिन नै महिलालाई मात्र बिदा हुने ऋषिपञ्चमी परेको छ । उपत्यकामा मात्र बिदा हुने इन्द्रजात्रा १० असोज तथा १८ असोजमा तराईका जिल्लामा जितिया पर्वको बिदा तोकिएको छ । २६ असोजमा घटस्थापना परेको छ ।

 कात्तिकमा शनिबारसहित १३ दिन बिदा हुनुपर्नेमा दसैंको बिदा २ दिन घट्न पुग्दा ११ दिन मात्र हुन पुगेको छ । २०७१ सालमा नवमी र दशमी एकैदिन परेजस्तै २०७२ सालमा ५ कात्तिकमा महानवमी र विजया दशमी परेको छ । नवमी र दशमी एकै दिन पर्दा एकदिनको बिदा घटेको छ भने ७ कात्तिकमा पनि शनिबार परेकाले बिदा घटेको छ । ३ गते फूलपाती, ४ गते महाअष्टमी, ५ गते महानवमी र विजयादशमी परेका छन् । दसैं बिदा ६ कात्तिकमा पनि छ । कोजाग्रत पूर्णिमासहित कात्तिकमै २५ गते लक्ष्मीपूजा, २६ गते म्हपूजा र गोवद्र्धन पूजा तथा २७ गते भाइटीकाको सार्वजनिक बिदा परेको छ । मंसिरमा ४ शनिबारबाहेक १ गते छठ पर्व मात्र हुने सार्वजनिक बिदा छ भने सिख धर्मावलम्बीलाई ९ गते गुरु नानक जयन्ती र १७ गते अपांग कर्मचारीलाई अपांग दिवसको बिदा दिइएको समितिले उल्लेख गरेको छ ।

पुसमा किराती पर्व उद्यौली र क्रिस्चियन धर्मावलम्बीको क्रिसमस एकै दिन परेको छ । जसका कारण एक दिन सार्वजनिक बिदा घटेको छ । यही महिनामा १५ गते तमू ल्होसारको बिदा छ । माघमा ४ ओटा शनिबारबाहेक १ गते माघी पर्वमा मात्र बिदा छ । १६ गतेको सहिद दिवस र २३ गतेको र सोनम ल्होसार शनिबारै परेका छन्, जसका कारण दुई सार्वजनिक बिदा घटेको छ । फागुनमा ग्याल्पो ल्होसार र सूर्य ग्रहण एकै दिन पर्दा एक दिनको बिदा घटेको छ । २६ फागुनमा ग्याल्पो ल्होसार र सूर्य ग्रहण परेका छन् ।

यही महिनामा ६ गते प्रजातन्त्र दिवस, २४ गते महाशिवरात्रि छ । २५ फागुनमा महिलालाई मात्र बिदा हुने नारी दिवस छ । वर्षको अन्तिम महिना चैतमा ९ गते पहाड तथा उपत्यकामा तथा १० गते तराईमा होलीको बिदा घोषणा गरिएको छ । २५ चैतमा गते उपत्यकामा मात्र घोडेजात्राको बिदा तोकिएको छ । यो बाहेक इस्लाम धर्मावलम्बीको बकर इद तथा इद उल फित्रमा पनि बिदा छन् । मत्स्येन्द्रनाथको रथ जात्राका क्रममा हुने भोटो जात्रामा उपत्यकामा बिदा हुने समितिले जनाएको छ ।- न्यूज अभियान डट कम बाट 
Powered by Blogger.