Header Ads

दोस्रो चरणको आन्दोलन घोषणा, चैत २४ देखि २६ सम्म देशव्यापी आम हडताल

काठमाडौँ, चैत २ । एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले सहमतिमा संविधान निर्माणका लागि दबाब दिन भन्दै यही चैत्र २४–२६ गतेसम्म देशव्यापी आम हडताल गर्ने घोषणा गरेको छ । एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाको आज सिंहदरबारमा बसेको बैठकले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै यही चैत ५ गतेदेखि २६ गतेसम्मका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

मोर्चाले चैत्र ५ गते सबै जिल्लामा ३० दलीय गठबन्धनको आन्दोलन तयारी बैठक गर्ने, ८ गते सबै जिल्लामा सहमतिमा संविधान निर्माणमा जोड दिंदै महिलामाथिको हिंसा, महङ्गी, कालो बजारी, विद्युत्भार कटौती तथा भ्रष्टाचारलगायतका विषयमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको मोर्चाका संयोजकसमेत रहनुभएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीलाई जानकारी गराउनुभयो । त्यस्तै चैत्र ११ देखि प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा प्रदर्शन, बहिष्कार एवं अवरोध गर्ने, चैत्र १५ गते सबै जिल्ला सदरमुकाममा लाठी जुलुस गर्ने र चैत्र १६ देखि १८ गतेसम्म जिल्ला प्रशासन कार्यालयलगायत सरकारी कार्यालय घेराउ गर्ने मोर्चाले जनाएको छ ।

बैठकले चैत्र १८ गते बेलुकी मसाल जुलुस गर्ने, चैत्र १९ गते देशव्यापी आम हडताल, चैत्र २० गतेदेखि २३ गतेसम्म सरकारी कार्यालयहरु बन्द गर्ने, नाकाबन्दी गर्ने, राजस्व कर असुली रोक्कालगायतका कार्य गर्ने, चैत्र २३ गते साँझ मसाल जुलुस गर्ने र चैत्र २४ गतेदेखि २६ सम्म देशव्यापी आम हडताल निर्णय गरेको छ । बैठकपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मोर्चाका संयोजकसमेत रहनुभएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्ष दलहरुले जनआन्दोलन एवम् शान्ति सम्झौताका निर्देशनलाई अवज्ञा गर्दै बहुमतीय प्रक्रिया सुरु गरेपछि सहमतिका आधारमा संविधान निर्माणका लागि आन्दोलनमा जानु परेको बताउनुभयो ।

मोर्चाले प्रधानमन्त्रीले वार्ता एवं सहमतिका लागि गर्नुभएको आह्वान र संविधानसभामा बहुमतीय प्रक्रियाको स्थगनको पृष्ठभूमिमा दोश्रो चरणको आन्दोलनको कार्यक्रम घोषणालाई स्थगित गरेर आफूहरु वार्तामा बसे पनि प्रमुख सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले) सहमतिका लागि गम्भीर नभएको आरोप लगाएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सहमतिका आधारमा संविधान निर्माण गर्ने घोषित उद्देश्यलाई केन्द्रमा राखी आन्दोलनको अर्को चरणको कार्यक्रम घोषणा गर्नु बाध्यता र आवश्यकता दुवै बनेको बताउँदै आन्दोलनमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । यसअघि आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एओवादीका अध्यक्ष र नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाबीच संविधान निर्माणमा सहमति खोज्न निर्णायक वार्ता भएको थियो ।

दुई शीर्ष नेताबीचको वार्तापछि एमाओवादी अध्यक्ष दाहालले वार्ता सकारात्मक भए पनि सहमतिबाट मात्र संविधान बनाइन्छ भन्ने सुनिश्चितता नभएकाले वार्तासँगै आन्दोलन पनि अघि बढ्ने बताउनुभएको थियो भने प्रधानमन्त्री कोइरालाले आपसी संवाद, सहकार्य, एकता, मेलमिलापका माध्यमबाट मात्र सहमति कायम गर्न सकिने बताउनुभएको थियो । बिहानको वार्तामा प्रधानमन्त्री कोइरालाले अध्यक्ष दाहाललाई वार्ताका क्रममा हुने उतारचढावबाट विचलित नभई संवादको प्रक्रियालाई निरन्तरता दिएर संविधान निर्माणको प्रक्रियालाई टुङ्गोमा पु¥याउन आग्रह गरे पनि अध्यक्ष दाहाल नेतृत्वको मोर्चाले भने आन्दोलन घोषणा गरेको छ । यसरी दलहरुबीचको आरोप प्रत्यारोप र आ–आफ्नै अडानले सहमतिमा संविधान बन्नेमा शङ्का उत्पन्न भएको छ भने जनतामा निरासा बढेको छ ।
Powered by Blogger.